logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कार दुर्घटना अपडेट : सीपी मैनालीसहित पाँच घाइते, मैनालीलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै


अंकुरण खबर
897
Shares

महोत्तरीमा कार दुर्घटनामा परेका नेकपा (माले) का महासचिव सीपी मैनालीलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइने भएको छ ।

बिहीबार दिउँसो झापाबाट काठमाडौं आउने क्रममा उनी चढेको बा ४ च २१२० नम्बरको कारलाई अर्को दिशाबाट आएको ना ४ ख ७६६८ पिकअप भ्यानसँग ठोक्किएको हो।

महोत्तरीको बर्दिवास नगरपालिका–३ चिसापानीमा भएको सो दुर्घटनामा महासचिव मैनाली घाइते भएका छन् । दुर्घटनामा मैनालीसहित पाँच जना घाइते छन् । घाइतेमध्ये मैनालीको अवस्था गम्भीर रहेको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए । उनको टाउको, निधार र छातीमा चोट लागेको छ ।

दुर्घटनामा सोही कारमा सवार मैनालीका छोरा सरोज मैनाली, बुहारी पूजा मैनाली, नाति पीएन मैनाली र चालक रामप्रसाद पौडेल पनि घाइते छन् । दुर्घटना लगत्तै महासचिव मैनालीसहितका घाइतेहरुलाई उपचारका लागि बर्दिवासमा रहेको जनसेवा अस्पतालमा पुर्‍याइएको थियो ।

महासचिव मैनालीलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको जनाउँदै प्रजिअ खत्रीले भने, ‘हामीले गृह मन्त्रालयसँग अनुरोध गरेर हेलिकोप्टर मगाएका छौँ, हेलिकोप्टर आउँदैछ ।’