logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपाका ४ शीर्ष नेता खुमलटारस्थित गोप्य छलफलमा


अंकुरण खबर
663
Shares

प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीबाहेक पार्टीका चार शीर्ष नेताबीच शुक्रबार बिहानै भेटघाट गरेका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा उनीसहित वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतमबीच भेटवार्ता भएको हो ।

आज बिहान भएको भेटवार्ता वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने सचिवालयको निर्णय कार्यान्वयन र प्रधानमन्त्री ओलीले त्यसविरुद्ध लिएको अडानका विषयमा केन्द्रीत रहेको स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार छलफलमा सचिवालयका अर्का सदस्य नारायणकाजी श्रेष्ठलाई बोलाइए पनि उनी पुगेका छैनन् । भेटवार्ताको शुरुमा ऊर्जामन्त्री वर्षमान पुनलगायतका नेता पनि सहभागी रहेको बताइएको छ । शीर्ष नेताबीचको छलफलपछि प्रचण्ड आजै चितवन जाने कार्यक्रम छ ।

बुधबार बालुवाटारमा बसेको सचिवालय बैठकले वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने सर्वसम्मत निर्णय गरेपछि नेकपामा विवाद बढेको छ । प्रधानमन्त्री ओलीले सचिवालयको निर्णय नमान्ने बताउँदै राष्ट्रिय सभामा अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिने अडान लिएका छन् ।

नेता खनाल, नेपाल लगायतले भने पार्टीले गरेको निर्णय कार्यान्वयन नगरे ओलीलाई प्रधानमन्त्रीबाटै हटाउनेसम्मको चेतावनी दिन थालेका छन् । नेकपाभित्रको आन्तरिक कलह सार्वजनिक भएको बेला अध्यक्ष ओलीबाहेकका शीर्ष नेताबीच भएको यो भेटवार्तालाई चासोको साथ हेरिएको छ ।