बालक बोकेकी महिलामाथि लाठी हान्ने प्रहरी इन्सपेक्टरमाथि प्रहरीले छानबिन सुरु गरेको छ।
सामाजिक सञ्जालमा बालक बोकेकी महिलामाथि लाठी हानेको भिडियो भाइरल बनेपछि महानगरीय प्रहरी प्रभाग, भैंसेपाटीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलमाथि प्रहरीले आन्तरिक छानविन सुरु गरेको हो ।
दोषी देखिए उनीमाथि कारवाही हुने जनाइएको छ । प्रहरी हेडक्वार्टरले निर्देशन दिएपछि ललितपुर प्रहरी परिसरले छानविन सुरु गरेको हो।
उक्त घटनाबारे अनुसन्धान गर्न ललितपुर प्रहरीले प्रहरी उपरीक्षक (एसपी) दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय छानविन समिति बनाएको छ। भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमा प्रहरीको आलोचना भइरहेको छ।
बिहीबार दिउँसो केही महिला ललितपुरको भैँसेपाटीस्थित नेपाली सेनाका पूर्व जर्नेलको घर अगाडि जम्मा भएको थिए । प्रहरीले घर बाहिर जम्मा भएका महिलाहरूलाई हटाउन लाठी प्रहार गरेको थियो ।