Breaking Newsअन्तर्वार्ताभिडियो

यसरी बनाइन्छ कृतिम डिम्पल, जसले सौन्दर्य र आत्मविश्वास बढाउछ…(भिडियो सहित)

सुन्दर अनुहार,आकर्षक व्यक्तित्व सबैको चाहाना हुन्छ । यस्तो चाहाना हुँदा हुँदै पनि कत्तिले सुन्दरता प्राप्त गर्न सकेका हुदैन् । पछिल्लो समय यस्तो चाहानालाई प्लासटिक सर्जरी गरेर होस् या अन्य कुनै आधुनिक प्रविधि मार्फत चिकित्सकले पुरा गरिदिएका छन् । सुन्दरता थप्ने एक कसी हो डिम्पल । के हो डिम्पल ? कसरी बनाईन्छ ? बनाए पछि कही असर गर्छ की गर्दैन् ? अंकुरण खबरका लागि वरिष्ठ नाक,कान,घाँटी रोग विशेषज्ञ तथा फेसियल प्लास्टिक सर्जन प्रा.डा.नरमाया थापा यसो भन्छिन् …

मानिसको सुन्दरताको राज मध्ये एक गालामा डिम्पल पर्नु पनि हो । जो मानिसको गालामा डिम्पल पर्छ उनीहरु सुन्दर त हुन्छ नै, उनीहरुमा आत्मविश्वास पनि उतिकै बढी हुन्छ 

के हो डिम्पल ?
सामान्य भाषामा भन्दा हास्दा गालामा खाल्टो पर्नुलाई डिम्पल भनिन्छ ।

डिम्पल दुई प्रकारका हुन्छन् :

१. प्राकृतिक डिम्पल

प्राकृतिक डिम्पल भनेको जो बंशाणुगत वा जन्मजात नै आएको हुन्छ । गालाको मांसपेशी दुई ठाउँमा टासिनाले डिम्पल बन्छ । यस्तो डिम्पललाई प्राकृतिक डिम्पल भनिन्छ ।
२.कृतिम डिम्पल
सौन्दर्य, आत्मविश्वास र पृथक बन्ने रहरले पछि बनाएको डिम्पललाई कृतिम डिम्पल भनिन्छ ।

कृतिम डिम्पल बनाउने प्रचलन विकसित राष्ट्रहरुमा धेरै पहिलेदेखि छ । तर नेपालमा भने यसको इतिहास लामो छैन । यद्यपी पछिल्लो समय कृतिम डिम्पल बनाउनेको संख्या बढेको छ । डिम्पल पुरुषको तुलनामा महिलाले बढी बनाउने गरेको पाइन्छ ।

कृतिम डिम्पल कसरी बनाइन्छ :
सुरुमा छाला लठ्याउने औषधि वा सुई दिइन्छ । त्यसपछि गालाको जुन प्वाइन्टमा डिम्पल बनाउने हो ,सोही प्वाइन्टमा गाला भित्र सानो घाउ बनाई डिम्पल बनाइन्छ । सुरुमा यो डिम्पल नहास्दा पनि देखिन्छ । पछि गएर हास्दा मात्र देखिन्छ  ।

डिम्पल बनाउन कति समय लाग्छ ?
सामान्यतया ३० मिनेट जति लाग्छ । डिम्पल बनाएपछि अस्पतालमा भर्ना भएर बस्नु पर्दैन ।

डिम्पल बनाए पछि केही नकारात्मक असर पर्छ की ?
त्यस्तो लामो समयसम्म असरनै पर्छ भन्ने चै हैन । तर डिम्पल बनाईसकेपछि चिकित्सकको सल्लाह बमोजिम आवश्यक सुझाब मानेन भने असर गर्न सक्छ ।

  • सुरुमा बनाउने वित्तिकै हल्का गाला सुनिन्छ ।
  • गाला रातो हुन्छ ।
  • गाला लाटो, तातो हुन्छ ।
  • जथाभावी खायो, सफा गरेन भने पछि सुन्निने, पिप जन्मे, घाउ हुने,खाना खान, बोल्न गाह्रो हुने हुन्छ ।

डिम्पल व्यक्तिले चाहेको ठाँउमा बनाउन मिल्छकी विशेष ठाँउमा बनाउनुपर्छ ?

हो, डिम्पल भन्ने वित्तिकै गालाको बिचमा बनाउने त हो नी भनिन्छ । तर त्यति मात्र हैन । यसको लागि विशेष ठाँउ हुन्छ । बिचार नगरी बनायो भने मुखलाई सप्लाई गर्ने नशा फेसियल नर्भ ड्यामेज हुन सक्छ । ¥याल ग्रन्थीको नली पनि ड्यामेज हुन सक्छ । यस कारण दक्ष,आवश्यक उपकरण भएको ठाँउमा मात्र डिम्पल बनाउनु पर्छ ।

एक पटक डिम्पल बनाएपछि जीवनभर रहन्छ ?

के बुझ्न जरुरी छ भने डिम्पन बनाउँदैमा सबैको बस्छ भन्ने छैन । कोही व्यक्तिमा नबस्न पनि सक्छ । तर थोरैमा मात्र यस्तो समस्या हुन्छ । कोहीको पछि−पछि बिस्तारै  सानो हुने पनि हुन सक्छ,  कोहीमा सधैभरि रहन्छ ।

डिम्पल बनाए पछि ध्यान दिनु पर्ने कुरा के के हुन् ?
सबै भन्दा महत्वपूर्ण कुरा नै यही हो । यो पनि एक प्रकारको सानो सल्यक्रिया नै हो । चिकित्सकले भनेको सुझाब मान्नै पर्छ । एक दुईदिन घाउ भएको ठाउँमा बरफले सेक्ने । एन्टिबायोटिक खाने । माउथवासले सफा गर्ने । धेरै दुखे पीडा कम हुने औषधि खाने । डिम्पल बनाए पछि १०, १५ दिनमा घाउ पूर्ण निको हुन्छ ।

डिम्पल बनाउ कति खर्च लाग्छ ?
खर्च सर्जन,अस्पताल अनुसार फरक पर्न सक्छ । तर सामान्यतया हाम्रो अस्पतालमा ५,७ हजार लाग्छ ।

के सबै व्यक्तिले डिम्पल बनाउन मिल्छ ?
बच्चा र वृद्धवृद्धा बाहेक अरुले बनाउन चै मिल्छ । तर दीर्घ रोगीहरु,उच्चरक्तचाप, मधुमेह,रगत नरोकिने समस्या भएका, अधिक धुमपान,मध्यपान गर्ने व्यक्तिमा चिकित्सकले स्वास्थ परीक्षण गरे पछि र आवश्यक. ठानेमा मात्र डिम्पल बनाउने गरिन्छ ।

(प्रा.डा.थापा त्रि.वि.शिक्षण अस्पताल,वि.पि.स्मृति अस्पताल लगाएतका अस्पतालमा कार्यरत छिन् )

Comment here