ओखलढुंगा चम्पादेवीका एक युवाले जन्मदिनको अवसरमा घरबिहीनलाई घर बनाईदिएका छन् ।
ओखलढुंगा चम्पादेवी गाउँपालिका वडा नं ५ पुरानागाउँका २० बर्षीया मनोज बुढाथोकीले शनिबार घरविहीन स्थानीय गोमा नेपालीलाई एकतले घर हस्तान्तरण गरेका हुन।
पारिवारिक विमेलका कारण माइतीमै बस्दै आएकी नेपाली दुखका साथ २ छोरा सहित टहरोमा बस्दै आएकी थिइन । आर्थिक अवस्था कमजोर भएकी गाँउलेचेलीलाई जन्मदिनको अवसरमा घर हस्तानतरण गर्न पाउँदा निकै खुसी लागेको बुढाथोकीले बताए । उक्त घर तयार गर्न आफ्नो परिवार, स्थानीयको सहयोगका साथै रु.२५ हजार लागेको उनले बताए ।
जन्म दिनमा फजुल खर्च गरेर रमाउने पैसाले गरिब दुखीको सेवा गर्दा धेरै आनन्द मिलेको बुढाथोकीको भनाई थियो । सानैदेखि समाजसेवामा लागिपरेका बुढाथोकीको यो सहयोगले नेपाली धेरै हर्षित भएकी छिन् ।
