प्रतिनिधि सभाको सोमबार बसेको बैठकले विश्वभर त्रास फैलिएको कोरोना भाइरसको कारण देशको सबै नाका बन्द गर्नु पर्ने माग राखेका छन् ।
बैठमा संसदहरुले देशले उचित मात्रामा कोरोनाको सतर्कता अपनाउन नसक्दा देशका सबै नाका बन्द गर्नुपर्ने माग राखेका हुन् ।
सांसद उमा रेग्मीले कोरोनाबारे सरकारले सतर्कता अपनाउन चासो नदेखाएको भन्दै डरलाग्दो रुपमा देखिएको यो प्रभावबाट बच्न सतर्कता नअपनाएको बताइन् । उनले भारतसँग जोडिएका नाकाहरुबाट निर्वाध आवतजावत भइरहेको भन्दै सरकारले यसलाई सम्बेदनशील रुपमा लिएर नाकाहरु बन्द गन सुझाव दिइन् ।
उनले अरु देशले नाका बन्द गरिसकेको अवस्थामा नेपाललाई पनि नाका बन्द गर्न कुनै अप्ठेरो नपर्ने धारणा राखिन् । त्यस्तै, तुलसा थापाले विश्व स्वास्थ्य संगठनले नेपाल समेत उच्च जोखिममा रहेको भन्दै यस्तो अवस्थामा नेपालमा कोरोना छिर्यो भने भयावह हुन सक्ने चेतावनी दिइन् ।
सांसद कृष्णभक्त पोखरेलले कोरोना भाइरस विश्वव्यापी रुपमा फैलिरहेको भन्दै विश्वमा ९० हजार मानिस यो रोगबाट प्रभावित भएको ३ हजारको मृत्यु भएको भन्दै सबै उपाय अवलम्बन गर्न आग्रह गरेका छन् ।
त्यस्तै सांसद छक्कबहादुर लामाले तातोपानी नाका र रसुवाबाहेक अन्य नाकामा क्वारेन्टाइनको व्यवस्था नभएको भन्दै हाल हिउँलेमात्र क्वारेन्टाइनको काम गरेको बताए । उनले हिउँ बिलाएपछि समस्या आउने भन्दै ती स्थानमा क्वारेनटाइनको व्यवस्था गर्न माग गरे ।