logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाको आशंकामा फ्रान्समा ३ नेपाली प्रहरी नियन्त्रणमा


अंकुरण खबर
845
Shares

कोरोना भाइरसबाट संक्रमित भएको आशंकामा तीन नेपालीलाई फ्रान्सेली प्रहरीले नियन्त्रणमा लिएर पार्पिनियो अस्पतालमा भर्ना गरेको छ।

इटालीबाट स्पेन हुँदै फ्रान्स आइपुगेका उनीहरूलाई संक्रमणको लक्षण देखिएको भन्दै गत बुधवार ओरियन्टलस्थित पेर्तुसको सीमा रक्षक प्रहरीले नियन्त्रणमा लिएको थियो। फ्रान्सको आवासीय इजाजत नभएकाले उनीहरूको नाम सार्वजनिक नगरिएको पेर्तुसस्थित प्रहरीले जनाएको छ।

स्पेनको कातालोन्य क्षेत्रका प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेपछि उनीहरूलाई फ्रान्सको आर्तुसस्थित सीमा रक्षक प्रहरीको जिम्मा पनि लगाएको थियो। इटालीबाट स्पेन हुँदै फ्रान्स पसे पनि युरोपेली परिषदको अध्यागमन नियम र सुविधाअनुसार फ्रान्स प्रहरीले इटाली नपठाइ अस्पताल भर्ना गरेको हो।

आर्तुसका प्रहरीले अस्पतालसम्म निजी एम्बुलेन्समार्फत पुर्याएको थियो। आप्रवासी भएकाले गोपनीयताको कारण भन्दै अस्पतालका अधिकारीले पनि उनीहरूको नाम ठेगाना खुलाउन मानेनन्। फ्रान्सका १२ प्रान्तमा हालसम्म १ सय ३० जनामा कोरोना संक्रमण भेटिएको छ भने तीन जनाको मृत्यु भइसकेको छ। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।