काठमाडौं – नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेका कारण त्यसबाट सावधानी अप्नाउन काठमाडौंमा होली प्रतिबन्ध लगाइएको छ।
बुधबार बसेको जिल्ला सुरक्षा समन्वय समितिको बैठकले होली खेल्न नदिने निर्णय गरेको हो। जिल्ला प्रशासनले होली नखेल्न तथा भिडभाडमा नजान, भेला, सभा, सम्मेलन नगर्न आग्रह गरेको छ । भिडभाड तथा जमघटमा कोरोना भाइरस संक्रमणको खतरा हुने भन्दै बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले काठमाडौं जिल्लामा अर्को निर्णय नभएसम्म विभिन्न प्रकारका उत्सव, मेला, होली लगायतका पर्वमा भेला नहुन, त्यस्ता सम्मेलन तथा कार्यक्रममा सहभागी नहुन सबैलाई अनुरोध पनि गरेको छ।
चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका ७० देशमा देखिएको छ। विश्वस्वास्थ्य संगठनले नेपाललाई पनि कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको बताएको छ।