एक नेपाली विद्यार्थीको अष्ट्रेलियाको समुद्रमा डुबेर मृत्यु भएको छ ।
क्विन्सल्याण्ड राज्यको समुद्रमा बुधबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर फेडेरेसन युनिभर्सिटीमा अध्यनरत पोखरा स्थायी घर भएका निकेस श्रेष्ठको मृत्यु भएको हो ।
निकेसलाई छालले बगाएको थियो । छालमा बगेर बेपत्ता भएपछि उनीसँगै पौडी खेलिरहेका साथीहरुले उद्धारकर्मीलाई सम्पर्क गरेका थिए । उद्धारकर्मीले ५ मिनेटपछि किनारबाट २ सय मिटर पर तैरिरहेको अवस्थामा निकेसको शव भेटाएको एनआरएनए क्विन्सल्यान्डका संयोजक उमेश खड्काले जानकारी दिए । उनी चार जना साथीसँग पौडी खेल्न समुद्रमा पुगेका थिए ।
अहिले उनको शव ब्रिजवेनको कुपर प्लेनस्थित शवगृहमा राखिएको र नेपाल पठाउने तयारी गरीरहेको खड्काले जानकारी दिए ।
घटनाबारे जानकारी पाएलगत्तै क्विन्सल्यान्डका एनआरएनएले आफन्त, परिवार र प्रहरीसँग समन्वय गरेका थिए ।