शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट भागेका कोरोना संक्रमित आशंका गरिएका एक बिरामी विराटनगर पुगेका छन् ।
कोरियाबाट आएका उनमा कोरोनाको आशंकापछि टेकु अस्पतालको आइसोलेसनमा राखिएको भए पनि उनी झ्यालबाट हामफेर भागेका थिए । उनले बोक्दै आएको मोबाइल ट्रयाक गर्दा विराटनगर पुगेको खुलेको प्रहरी स्रोतले जानकारी दिएको छ । उनलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय मोरङको टोली खटिएको बताइएको छ।
सुनसरीको इटहरी घर भएका उनी गए राति (बुधबार) साढे १० बजेतिर अस्पतालबाट भागेको जानकारी आएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।
उनका अनुसार मंगलबार कोरियाबाट फर्किएका उनलाई परिवारले कोरोनाको आशंकामा टेकु अस्पताल लगेका थिए । प्रहरीले सम्भावित ठाउँमा उनलाई खोजी गर्दा फेला नपरेपछि मोबाइल ट्रयाक गरेर उनको लोकेसन पत्ता लगाएको हो ।
उनको रिपोर्ट आउन बाँकी रहेकाले कोरोना भए-नभएको पुष्टि भएको छैन ।