चीनको ऊहानबाट फैलन सुरु भएको कोरोना भाइरस (कोभिड –१९) अब संसारको ७६ देशमा फैलिसकेको छ । नेपालमा यसको संक्रमित अहिलेसम्म नदेखिएको भनिए पनि छिमेकी राष्ट्र भारतमा २९ जनामा यो संक्रमणको पुष्टि भइसकेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसको पहिलो संक्रमणको पुष्टि डिसेम्बर ३१ सन् २०१९ मा भएको थियो । तीब्र रुपमा भाइरस फैलिएपछि ३० जनवरी २०२० मा यसलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषित गरिएको थियो ।
तर सुरुवाती समयमा यो भाइरसबारे खासै जानकारी थिएन त्यसैकारण यसको उपचार पनि राम्रोसँग हुन सकेन । अहिलेसम्म यो भाइरसबाट बच्नका लागि कुनै खोप पनि बन्न सकेको छैन । यो भाइरसबारे र यसको संक्रमणको तरिकाबारे जानकारी त उपलब्ध छन् तर अहिलेसम्म यसको कुनै उपचार भेट्न सकिएको छैन ।
विश्व स्वास्थ्य संगठनसमेत विभिन्न देशका डाक्टर यो रोगसँग लड्नका लागि खोपको खोजीकार्यमा जुटेका छन् तर के यसको खोप चाँडै बन्न सक्ला ?
कहिलेसम्म बन्ला कोरोनाविरुद्धको खोप ?
यो भाइरसमाथि अनुसन्धान गरिरहेका डाक्टरले यसको खोप बनाइसकेको र जनावरमा यसको परीक्षण सुरु गरिसकिएको दाबी गरेका छन् । यदि सबै कुरा सही रहे यसै वर्ष मानिसमा पनि यसको परीक्षण सुरु गरिने सम्भावना छ ।
कोरोना भाइरसका लागि खोप बनाएको भन्दै वैज्ञानिकहरु खुसी भए पनि ठूलो परिमाणमा यसको उत्पादन सुरु हुन अहिले समय लाग्नेछ । यसको अर्थ यो हो कि अर्को वर्ष अघि यो खोप बजारमा उपलब्ध हुने नहुने अहिले नै निश्चित छैन ।
कोरोना भाइरस (कोभिड –१९) का लागि निकै तीब्र गतीमा काम चलिरहेको छ र खोप बनाउनका लागि विभिन्न बाटो अपनाइँदैछ । यस्तोमा यसको खोपको विषयमा अहिले नै कुनै ग्यारेन्टी छैन ।
अहिलेसम्म चार प्रकारका कोरोना भाइरस पाइएका छन् जसले मानिसहरुलाई संक्रमित बनाइरहेका छन् । यी भाइरसका कारण रुघा–खोकी लाग्ने बेला देखिने लक्षण देखिन्छ र यसका लागि अहिलेसम्म कुनै खोप छैन ।
के सबै उमेर समूहका मानिसहरु बच्न सक्लान् ?
यदि कोरोना भाइरसको खोप बन्यो भने पाका उमेरका मानिसहरुमा यसको असर कम हुन सक्ने अनुमान गरिएको छ। तर यसको कारण खोप नभई मानिसहरुको रोग प्रतिरोधात्मक क्षमता हो किनभने उमेर बढी हुँदा व्यक्तिको रोग प्रतिरोधी क्षमता पनि कम हुने गर्छ। हरेक वर्ष फ्लूको संकमणका साथै यस्तो समस्या देख्ने गरिन्छ।
सबै औषधीका साइड इफेक्ट हुन्छन् । बिरामी हुँदा साधारण रुपमा प्रयोग गरिने प्यारासिटामोल जस्तो औषधीको पनि साइड इफेक्ट हुन्छ । तर जबसम्म कुनै खोपको क्लिनिकल परीक्षण हुँदैन, यसले कस्तो असर पार्छ भन्ने कुरा थाहा पाउन मुश्किल छ ।
खोप पत्ता नलागेसम्म के गर्न सकिन्छ ?
यो कुरा साँचो हो कि खोपले व्यक्तिलाई रोगबाट बचाउँछ तर कोरोना भाइरसबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय भनेको राम्रो तरिकाले सर–सफाई गर्नु हो ।
यदि तपाईंलाई कोरोना भाइरस संक्रमण भइहाले पनि यो साधारण संक्रमण जस्तो हुन्छ । क्लिनकल ट्रायलमा विभिन्न प्रकारका एन्टी–भाइरस प्रयोग गरिँदै छन् तर यो सबै कोरोनामा पनि प्रभावकारी हुनेछ भनेर निश्चित गर्नु मुश्किल छ ।
खोप कसरी बन्छ ?
मानिसको शरीरमा रगतमा ह्वाईट ब्लड सेल हुन्छ जुन उसको रोग प्रतिरोधी तन्त्रको हिस्सा हुन्छ । शरीरलाई क्षती नर्पुयाई खोपमार्फत् शरीरमा अत्यधिक कम मात्रामा भाइरस वा ब्याक्टेरिया हालिन्छ । जब शरीरको रक्षा तन्त्रले यो भाइरस वा ब्याक्टेरियालाई पहिचान गर्छ तब शरीर यसविरुद्ध लड्न सिक्छ ।
त्यसपछि यदि मानिसले साँच्चै नै उक्त भाइरस वा ब्याक्टेरियाको सामना गर्छ तब उसलाई संक्रमणबाट कसरी बच्ने जानकारी हुन्छ। दशकौंदेखि भाइरससँग लड्नका लागि जुन खोप बने त्यसमा सक्कली भाइरसको नै प्रयोग हुँदै आएको छ। मिजल्स (दादुरा), मम्प्स र रुबेला (एमएमआर) को खोप बनाउनका लागि यस्ता कमजोर भाइरसको प्रयोग गरिन्छ जसले संक्रमण गर्न सक्दैनन्। साथै फ्लूको खोपमा पनि यसको भाइरस नै प्रयोग हुन्छ।
तर कोरोना भाइरसमा अहिले जुन नयाँ खोप बनाइँदैछ त्यसका लागि नयाँ तरिकाको प्रयोग भइरहेको छ र जसको अहिले कम नै परीक्षण हुन सकेको छ । नयाँ कोरोना भाइरसको जेनेटिक कोड अब वैज्ञानिकलाई थाहा भइसकेको छ र अब हामीसँग खोप बनाउनका लागि एउटा पूरा ब्लूप्रिन्ट तयार छ ।
खोप बनाउने केही डाक्टर कोरोना भाइरसको जेनेटिक कोडबाट केही हिस्सा लिएर त्यसको नयाँ खोप तयार गर्ने कोसिसमा छन् । कति डाक्टर यो भाइरसको मूल जेनेटिक कोडको प्रयोग गरिरहेका छन् जुन एक पटक शरीरमा प्रवेश भएपछि भाइरल प्रोटिन बनाउँछ र शरीरले यो भाइरसबाट लड्न सिक्नेछ । बीबीसी