शुक्रबार बसेको प्रतिनिधिसभाको बैंठकले प्रधानमन्त्री केपी शर्मा ओली र वन मन्त्री शक्ति बस्नेतको राजिनामा माग गरेको छ ।
बैठकमा नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले प्रधानमन्त्री ओलीको राजिनामा माग गरेका हुन् । उनले प्रधानमन्त्रीको स्वास्थ्यका साथै देशको पनि चिन्ता लागेको बताउदै भ्रष्टाचारी भाइरसले देशको मुटु, फोक्सो, कलेजो र नसामा पसेर आम जनताको रगत र पसिना चुसेकोमा चिन्ता लागेको बताए ।
उनले प्रधानमन्त्रीले आसेपासे भ्रष्टाचारीलाई संरक्षण गरेको भन्दै राजीनामा माग गरेका हुन् ।
सांसद दिल कुमारीले वन मन्त्री शक्ति बस्नेतको राजीनामा माग गरेकी छिन् । उनले राजतन्त्र सकिएपनि मन्त्रालयमा राणाशासन रहेको उल्लेख गर्दै वन मन्त्रालयमा आफूमाथि दुर्व्र्यवहार भएको बताएकी छिन् ।
उनले मन्त्रीको स्वकीय सचिव र कर्मचारीले समानुपातिक कि प्रत्यक्ष निर्वाचित भनेर प्रश्न गरेको गुनासो गरेको बताइन् । उनले वन मन्त्रीको राजीनामा माग गर्दै उनका स्वकीय सचिव धिरज उप्रेतीले हदैसम्मको अपमान गरेको बताइन् ।
यस्तै नेपाली काँग्रेसकी सांसद डिला संग्रौलाले सेक्युरिटी प्रिटिङ प्रेस प्रकरणमा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटालाई कारवाही गर्न माग गरेकी छिन् । संग्रौलाले भ्रष्टाचारले कोरोना भाइरसले जस्तै तर्साएको बताइन् ।
उनले प्रधानमन्त्रीले आत्मविश्वासले रोगलाई जित्न सकेपनि भ्रष्टाचारलाई जित्न नसकेको बताइन् । प्रधानमन्त्रीले भ्रष्टाचारीलाई संरक्षण गरेको भन्दै उनले सेकुरिटी प्रिटिङ्ग प्रेसमा भएको करोडौँ भ्रष्टाचारको छानविन गर्न आग्रह गरे ।