जडिबुटीस्थित जागृति एकेडेमीले परीक्षामा कम नम्बर ल्याउने विद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिकालाई जागिरबाट निकालेको छ ।
कक्षा ६ र ७ का ३४ जना विद्यार्थीलाई शिक्षिका सीतालक्ष्मी कर्माचार्यले ब्लेडले हात चिर्न लगाएको खबर नयाँ पत्रिका दैनिकमा आएसंगै शिक्षिकाको चौतर्फि आलोचना भएको थियो । सामाजिक शिक्षा विषय पढाउँने शिक्षिकाले परीक्षामा कम नम्बर ल्याएको भन्दै कक्षा ६ का २५ र कक्षा ७ का ९ जनालाई बिहिबार कक्षाकोठामै ब्लेडले हात चिर्न लगाएकी हुन् ।
विद्यार्थीले सिसाकलम तिखार्न प्रयोग गर्ने ब्लेडले हात चिरेका थिए । २० पूर्णाङ्कको परीक्षा लिइएकोमा १५ भन्दा कम नम्बर ल्याउने विद्यार्थीलाई सजाय स्वरुप शिक्षिकाले हात चिर्न लगाएको विद्यार्थी तथा अभिभावकले गुनासो गरेका छन् ।
दण्डरहित शिक्षणको सम्मान गर्दै २०७६ फागुन २३ गतेबाट लागु हुने गरि शिक्षक सीतालक्ष्मी कर्माचार्यलाई शिक्षक पदबाट अवकाश दिएको विद्यालय व्यवस्थापन समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
