logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज ११० औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइंदै, समृद्धि हासिल गर्न दिवसले मद्धत पुग्ने राष्ट्रपतिको विश्वास


अंकुरण खबर
1.573K
Shares

आज ११० औं अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।

यस वर्ष ‘समानताको पुस्ताः अन्त्य गरौं हिंसा विभेद र असमानता’ मूल नारा रहेको छ । नेपाली महिलाले पनि आफ्नो अधिकार र स्वतन्त्रताको आन्दोलनसँग जोडेर यो दिवस मनाउने गरेका छन् ।

सन् १९०९ मा पहिलोपटक अमेरिकाको न्यूयोर्कमा कपडा कारखानामा काम गर्ने महिलाले आफूमाथि भएको शोषण, असमानता र बढी काम गर्ने समयकाविरुद्ध सडकमा आन्दोलन गरेका थिए ।

त्यसको दुई वर्षपछि सन् १९११ मा अन्तर्राष्ट्रिय समाजवादी समूहले डेनमार्कको कोपनहेगनमा महिलाको अधिकार र उनीहरुको आन्दोलनको समर्थनमा सम्मेलन गरे ।

जसमा १७ देशका एकसय जना महिलाको सहभागिता थियो । सन् १९११ मा पहिलोपटक अस्ट्रिया, डेनमार्क, जर्मनी, स्वीट्जरल्यान्ड आदि देशमा महिला दिवस मनाइएको हो ।

त्यसपछि विश्वका विभिन्न देशमा अभियानको रुपमा यो दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ ।

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले महिला दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै दिवसले महिलाको आर्थिक, सामाजिक तथा व्यवस्थापकीय रुपान्तरणका माध्यमबाट सामाजिक सचेतना तथा राष्ट्रिय समृद्धि हासिल गर्न मद्धत पुग्ने विश्वास व्यक्त गरेकी छिन् ।

सन्देशमा उनले महिला दिवसको उद्धेश्य साकार पार्न सम्बद्ध सबैको अग्रसरता आवश्यक रहेकोमा जोड दिएकी छन् । राष्ट्रपति भण्डारीले दिवसले लैंगिक समानताका लागि क्रियाशिल सम्बद्ध सबैमा थप उत्साहका साथ काम गर्ने प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरिन् ।