तराईमा आज (मंगलबार) फागु अर्थात होली पर्व मनाइँदै छ । पहाडी र हिमाली क्षेत्रमा होली मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने चलन रहेको हो ।
तराईमा आज अबीरलगायतका रङ्ग दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली पर्व मनाउने गरिन्छ । तर यसपालि कोरोना भाइरसको जोखिमका कारण तराईमा पनि अघिल्ला वर्षको जस्तो होलीको उल्लास नभएको जनाइएको छ ।
होलीको अवसरमा तराईमा मंगलबार सार्वजनिक बिदा दिइएको छ । तर कोरोनाको जोखिम रहेकाले सँधैजस्तो यसपटक जमघट भएर होली नखेल्न सरकार र सरुवारोग विशेषज्ञ डाक्टरहरुले आग्रह गरेका छन् । भिडभाडमा जाँदा, र रङ्ग भिजेको पानीमा भिज्दा सङ्क्रमणको डर हुने भएकाले सजक हुन डाक्टरले आग्रह गरेका हुन् ।
यसैबीच धनुषाको जनकपुरमा भने भोलिमात्रै होली पर्व मनाइने भएको छ । आज मंगलबार परेकोले माछा मासु खान नमिल्ने भएपछि भोलिमात्रै होली पर्व मनाउन लागिएको हो।