Breaking Newsअन्तर्वार्तास्वास्थ्य

कान पाक्ने समस्याबाट जोगिन यसो गर्नुस्…

धेरै व्यक्तिमा कानको समस्या हुन्छ । कानका समस्यामा पनि अधिकांशमा कान पाक्ने वा दुख्ने समस्या हुन्छ । बच्चाहरुमा कान पाक्ने समस्या अझ बढी देखिन्छ । के कारणले कान पाक्छ र कसरी बच्ने ? अंकुरण खबरका लागि वरिष्ठ नाक,कान,घाँटी रोग विशेषज्ञ डा. भक्त बहादुर सिंहसंग अनिता मगरले गरेको कुराकानी …

कान शरिरको महत्वपूर्ण अंग हो । टाउको मुनी दुबै साइडमा रहेको कानले सुन्नका साथै सौन्दर्य पनि थपेको हुन्छ । कानमा लाग्ने रोग हेर्दा साधारण लागेपनि समयमै उपचार भएन भने अन्य अंगमा पनि असर पर्न सक्छ । कानमा देखिने समस्या मध्ये सबैभन्दा धेरै देखिने समस्या भनेकै कान पाक्ने समस्या हो । जुनसुकै लिङ्ग, उमेर समुहका मानिसमा यो समस्या देखिन सक्छ । र पनि तुलानात्कम रुपमा बच्चाहरुमा यो समस्या बढी देखिन्छ ।

कान पाक्ने रोग के हो ?
कानको बनावट हेरेर कानलाई तीन भाग (बाहिरी, मध्य र भित्री) मा विभाजन गरिएको हुन्छ । जसमध्ये मध्य भागमा विभिन्न कारण संक्रमण हुँदा पिप जम्छ । जमेको पिपले कानको जाली प्वाल पारेर बाहिर निस्कन्छ जसलाई कान पाकेको भनिन्छ ।

बच्चाहरुमा किन बढी कान पाक्छ ?
घाँटी र कान जोड्ने नसा एउटै हुन्छ । यस्तो नसा वा नली बच्चाहरुमा सिधा हुन्छ भने उमेर बढेसँगै प्रौढहरुमा यस्तो नसा टेडो हुन्छ । जसका कारण बच्चाहरुमा घाँटीको संक्रमण हुनेबित्तिकै सिधै कानमा असर पर्दछ र छिट्टै पाक्छ । प्रौढहरुमा रोग प्रतिरोधात्मक क्षमता बढी र नसा टेडो हुने भएकाले संक्रमण कम हुन्छ । यसको साथ साथै अन्य कारणहरु यस्ता छन् …

१. बच्चालाई सुतेर दुध खुवाउँदा कानमा पर्दा ।
२. फोहोर पानीमा पौडी खेल्दा वा नुहाउँदा ।
३. दुर्घटना, झगडा वा कानमा असर पुग्ने गरी कानको जाली फुट्दा ।
४. टंसिलको समस्या हुँदा ।
५. लामो समय रुघा–खोकी लाग्दा कानमा प्रेसर पर्ने गरी सिँ सिँ गर्दा ।
६. कानेगुजी झिक्न वा फोहोर सफा गर्न  धेरैले सिन्का, प्वाँख, सलाईको काँटी जस्ता सामानले कान कोट्याउने गर्छन् । यसले कानको जालीमा असर गर्नुका साथै विभिन्न संक्रमण देखापर्छ जसले गर्दा कान पाक्छ ।

कान पाक्दा कस्ता लक्षण देखिन्छन् ?
१. ज्वरो आउने
२. कानबाट पिप बग्ने ।
३. कान दुख्ने ।
४. कान पाकेको लामो समय भए बिस्तारै कान कम सुन्ने, मुख बाङ्गो हुने ।
५. कान वरीपरी घाँउ हुँने ।
६ .दुखाईको कारण बच्चाहरु रुने,खाना नखाने,नसुत्ने ।

कान पाक्दा कसरी श्रवण शक्ति कम हुन्छ ?
लगातार कान पाक्दा कान डम्म हुनुका साथै दुख्ने गर्दछ । कानमा पिप बगिरहँदा कानको भित्री भागमा समेत संक्रमण हुन्छ । कानको जाली नै प्वाल पर्ने भएकाले कम सुन्ने वा सुन्दै नसुन्ने पनि हुनसक्छ ।

कान पाक्नबाट बच्न के गर्ने ?
१. दुध चुसाउँदा बच्चाको कानमा दुध परेको छ कि भनेर याद गर्ने ।
२. रुघा लाग्दा बेस्सरी सिँ सिँ नगर्ने ।
३. नुहाउँदा वा पौडी खेल्दा कपासमा भ्यासलिन लगाएर कानमा राख्ने ।
४. कानमा तेल नहाल्ने ।
५. जथाभावी औषधीको प्रयोग नगर्ने ।
६. जथाभावी जे पायो त्यहीले कान नकोट्याउने।
७. कानको सफाईको लागि कम मोटाईको पातलो कपास भएको चिम्टीको प्रयोग गर्ने ।
८. कान सफा गर्दा ईयरबडले सफा नगर्ने यसले कानेगुजीलाई अझै भित्र धकेल्न मदत गर्छ ।
९. कानमा सरसफाईमा विशेष ध्यान दिने ।

यदि कानमा समस्या आइहाले तत्काल चिकित्सकको सल्लाह बमोजिम औषधी सेवन गर्नु पर्छ ।

Comment here