गोरखाको बारपाक सुलिकोट गाउँपालिका-४ छहरेखोलास्थित सिम्बमा बलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। दुर्घटनामा परी घाइते भएकामध्ये चार जनाको अवस्था गम्भीर रहेको छ।
रन्चोकबाट गोरखा सदरमुकामतर्फ यात्रु लिएर आउँदै गरेको बा१५च १०१६ नं को जिप उकालोमा पछाडि सरेर आज बिहान दुर्घटना भएको हो । घटनालगत्तै प्रहरी घटनास्थलमा पुगेको छ ।
दुर्घटनामा बारपाक सुलिकोट गाउँपालिका–४ की १९ वर्षीया विमला गुरुङ, सोही ठाउँकी ६० वर्षीय बुद्वबहादुर गुरुङ, २० वर्षीया रमा गुरुङ, ३३ वर्षीय श्रीमान् गुरुङ, २३ वर्षीय विनोद गुरुङ, ६० वर्षीया क्षेत्रकुमारी गुरुङ, ३७ वर्षीया टेकमाया गुरुङ, टेकमायाकी छोरी छ वर्षीया सुनिता गुरुङ र ७३ वर्षीया सुकमाया गुरुङ घाइते छन्।
अन्य घाइतेमा सौरपानीकी ५२ वर्षीया राजकुमारी गुरुङ र चालक ४० वर्षीय आनन्दकुमार गुरुङ घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
घाइतेमध्ये विमला, रमा, क्षेत्रकुमारी र सुकमाया गुरुङको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइतेको हेलिकोप्टरबाट उद्धारको प्रयास भइरहेको प्रहरीले जनाएको छ।
जिप सडकबाट झण्डै ५० मिटर पछाडि खसेको थियो ।