नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईबीच भेटवार्ता भएको छ । भेटमा कोरोना भाइरसको संक्रक्रमणले ल्याएको समस्या, यसको नियन्त्रण, रोकथाम उपाय र पूर्व तयारीको बारेमा कुराकानी भएको हो ।
मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको भेटमा राजदूत यान्छीले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि चीनको अनुभव बारेमा जानकारी दिएकी थिइन् । राजदूत यान्छीले कोरोना भाइरसको संक्रक्रमणबाट पीडित ८० हजार ९ सय बिरामीमध्ये ५९ हजार चिनियाँ नागरिक उपचारपछि घर फर्किएको बताइन् ।
राजदूत यान्छीले नेपालमा कोरोना भाइरसको संक्रमण नफैलिने विश्वास व्यक्त गर्दै यदि नेपालमा समस्या भए नियन्त्रणका लागि चीनको सहयोग रहने बताइन् । उनले कोरोना भाइरसको संक्रक्रमणबाट बच्न नेपालले अपनाएको पूर्व सर्तकता र तयारीको प्रशंसा समेत व्यक्त गरिन् ।
भेटमा मन्त्री भट्टराईले कोरोना भाइरसको समस्याबाट चीन चाँडै मुक्त हुन लागेको भन्दै खुशी व्यक्त गरे । उनले कोरोना भाइरसको संक्रमण रोकथामका लागि नेपालले सबै तयारी गरिरहेको जानकारी दिए ।
अन्तर्राष्ट्रिय विमानस्थलमा चेकचाँज, अस्पतालहरुमा वेडको व्यबस्थापन, आवश्यक क्वारेन्टाइनको व्यबस्थालगायतका बिषयमा सरकारले गरिरहेको तयारीको बिषयमा मन्त्री भट्टराईले जानकारी गराएका थिए ।