नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा भएको विस्फोटको जिम्मा लिएको छ।
भक्तपुरको लोकन्थली स्थित बाँस्कोटाको नवनिर्मित घरमा बुधबार बिहान विस्फोट भएको थियो। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद काण्डमा ७० करोड घूसमा मुछिएका बास्कोटामाथि भ्रष्टाचारी घोषणा गर्दै कारबाही नेकपाले जनाएके छ।
‘भ्रष्टाचारी गोकुल बास्कोटामाथि कारबाही किन ?’ शीर्षकमा जारी पर्चामा नेकपाले बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदप्रकरणमा ७० करोड घूस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो पारेको, २४ अर्बको सेटलाइट खरिद प्रकरणमा करोडौँ रकम भ्रष्टाचार गरेको, १९ अर्बको फोर–जी सेवा विस्तारका क्रममा करोडौँ रकम दुरुपयोग गरेको, लगायतका आरोप लगाइएको छ।
७० करोड अडियो प्रकरणमा मुछिएका बाँस्कोटाले बनाउँदै गरेको नयाँ घरमाथि विप्लव समुहले आक्रमण प्रयास गरेको हो। बाँस्कोटाको निर्माणाधीन घरको पूर्वतर्फको पर्खालमा राखिएको बम विस्फोट हुँदा गेटमा क्षति पुग्नुका साथै झ्यालको सिसा पनि फुटेका छन्।
विस्फोटबाट बाँस्कोटाको घरसँगै रहेका अरु तीन वटा घरमा पनि सामान्य क्षति पुगेको छ। साथै बाँस्कोटाको घर अगाडि रहेको एउटा भ्यानमा पनि विस्फोटबाट क्षति पुगेको छ।
