पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम बिस्फोट गराएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा प्रतिबन्धित विप्लव समूहका भक्तपुर जिल्ला कमिटी सदस्य अन्दाजी ५० वर्षका देव गुरुङ रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
गुरुङलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । उनलाई टेकुमा ल्याएर थप अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।
बुधबार बिहान ७:५० बजे लोकन्थलीस्थित बाँस्कोटाको निर्माणाधीन घरलाई लक्षित गरेर रिमोट कन्ट्रोल प्रेसर कुकर बम विष्फोट भएको थियो । बिस्फोट हुँदा घरको पर्खाल भत्किएको छ भने छिमेकीका घरका सीसा र एउटा भ्यानमा क्षति पुगेको छ ।