logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कालापानीबाट भारतीय सेना हटाउनु पर्ने माग गर्दै संसदमा संकल्प प्रस्ताव


अंकुरण खबर
1.066K
Shares

आज (बिहीबार) को प्रतिनिधिसभा बैठकमा कालापानीबाट भारतीय सेना हटाउनु पर्ने मागसहितको संकल्प प्रस्ताव पेश हुने भएको छ ।

सत्तारुढ नेकपाका सांसद खगराज अधिकारीले यो प्रस्ताव पेश गर्ने तयारी रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

अधिकारीले ‘भारत सरकारले नेपालको दार्चुला जिल्लाको कुटियाङदी र लिम्पियाधुरा क्षेत्र समावेश गरी भारतको नक्सा प्रकाशित गरिसकेपछि सर्वदलीय बैठकबाट नेपालको भू–भाग कसैबाट कुनै प्रकारले हडप्ने काम नहोस् भन्ने अडान कायम गरी नेपाल सरकारलाई निर्देशन गरेकाले कुटनीतिक र अन्य पहलकदमी गरी नेपालको भू–भाग कायम गर्न र कालापानी क्षेत्रमा रहेका विदेशी सेना हटाउन आवश्यक भएकाले’ भन्ने विषयको संकल्प प्रस्ताव प्रस्तुत गर्ने संघीय संसदले जानकारी गराएको छ ।

सांसद रामकुमारी झाँक्रीले सो प्रस्तावको समर्थन गर्ने छिन् । यसअघिकै बैठकमा यो विषय कार्यसूची थियो । तर, समय अभावका कारण आजका लागि सारिएको जनाइएको छ ।

कुटनीतिक र अन्य पहलकदमी गरी अतिक्रमित नेपाली भू–भाग फिर्ता गर्न र कालापानी क्षेत्रमा रहेका विदेशी सेना हटाउन संसदले सरकारको ध्यानाकर्षण गराउने तयारी गरेको हो । राष्ट्रियसभाको बैठक पनि आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।

यसअघि सांसदहरुले नेपालको तर्फबाट पनि देशको नक्सा तयार गरी सार्वजनिक गर्न माग हुँदै आएको छ । यता सरकारले भने कालापानी क्षेत्रको सीमा विवादको समस्या हल गर्न भारत सरकारलाई पत्रचार गरिसकेको बताउँदै आएको छ ।