भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालनमा रहेका छ अस्पताललाई ‘आइसोलेशन वार्ड’ स्थापना गर्न आग्रह गरेको छ ।
नगरपालिकाले जिल्लामा सञ्चालन भएका भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र, डा इवामुरा मेमोरियल अस्पताल, सिद्धि स्मृति महिला तथा बाल अस्पताल र जनस्वास्थ्य केन्द्रलाई कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमित भेटिएमा स्वास्थ्य परीक्षण गर्न छुट्टै श्ययाको व्यवस्था गर्न पत्राचार गरेको हो ।
नगरपालिकाले (कोभिड–१९) को सङ्क्रमण विश्वव्यापी रुपमा फैलिरहेको र छिमेकी मुलुकमा यसको प्रभाव बढ्दै जाँदा नेपाल पनि उच्च जोखिममा रहेको ठहर गरेको छ ।
यसको सङ्क्रमणप्रति सजगता, रोकथाम तथा नियन्त्रणका लागि यस नगरपालिका क्षेत्रभित्र रहेका सबै अस्पताल र स्वास्थ्य केन्द्रमा उपलब्ध क्षमतालाई ध्यानमा राखी आकस्मिक अवस्थामा प्रयोग गर्न सकिने गरी आवश्यक न्यूनतम मात्रामा छुट्टै श्ययाको व्यवस्था मिलाउन अस्पताललाई पत्राचार गरिएको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।