अरुको नाममा ट्रायल दिने दुई जना पक्राउ परेका छन् । ट्राफिक प्रहरीले अर्काको नाममा सवारी अनुमतिपत्र (लाइसेन्स) को ट्रायल दिने दुई नक्कली प्रशिक्षार्थीलाई पक्राउ गरेको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले नेपाल ड्राइभिङ सेन्टर चाबहिलबाट दुई नक्कली प्रशिक्षार्थीलाई पक्राउ गरको जनाएको छ ।
पक्राउ पर्नेमा कैलालीका जनक न्यौपाने र दार्चुलाका सुभाससिंह धाँमी रहेका छन् । उनीहरुलाई प्रहरीले बिहीबार प्रकाउ गरेको हो । अर्काको नाममा आफ्नो फोटो टाँसेर ट्रायल दिन आएका अवस्थामा ती दुई जनालाई पक्राउ गरेको जनाइएको छ।
पक्राउ परेका न्यौपानेले बाजुराका कुन्का थापाको नाममा ट्रायल दिन आएको अनुसन्धानमा खुलेको छ भने धाँमीले थापालाई ट्रायल पास गरिदिने भन्दै सम्पर्कमा ल्याएर न्यौपानेलाई ट्रायल दिन लगाएको महाशाखाले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई मुलुकी अपराधसंहिता ऐन २०७४ को लिखतसम्बन्धी कसुर अपराधअनुसार थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि महानगरीय प्रहरीवृत्त गौशाला पठाएको महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।