प्रधानमन्त्री केपी शर्मा ओली आज (आइतबार) हुने कोरोनाविरुद्धको सार्क उच्चस्तरीय बैठकमा सहभागी हुने भएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का राष्ट्र र सरकार प्रमुखबीच आज साँझ नेपाली समयअनुसार सवा पाँच बजे बैठक बस्दैछ।
उक्त बैठकमा प्रधानमन्त्री ओली भिडिओ कन्फरेन्स मार्फत सहभागी हुनेछन्। प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालय सिंहदरबारबाट ओली उक्त भिडियो कन्फरेन्समा सहभागी हुने भएका हुन् । भिडियो कन्फरेन्सका क्रममा प्रधानमन्त्री ओलीले नेपालमा अहिले कोरोना भाइरसले पारेको प्रभाव लगायतका विषयमा कुरा गर्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ।
‘सार्क अध्यक्ष राष्ट्रका हैसियतमा प्रधानमन्त्री ओलीले शुक्रबार नै नरेन्द्र मोदीको प्रस्तावको स्वागत गरेका छन् । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर प्रधानमन्त्री ओली शुक्रबारमात्र अस्पतालबाट निवास फर्किएका थिए।