सरकारले सबै जिल्ला प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला तहमा कार्यरत चिकित्सकसहित स्वास्थ्यकर्मीहरुलाई जिल्ला नछाड्न निर्देशन दिएको छ ।
विश्वव्यापी महामारी कोरोना भाइरसको सम्भावित संक्रमणविरुद्ध परिचालन हुन भन्दै सरकारले सीडीओ र जिल्लामा रहेका स्वास्थ्यकर्मीहरुलाई जिल्ला नछाड्न निर्देशन दिएको हो ।
कोरोना भाइरसको संक्रमणविरुद्धको तयारीबारे आइतबार राष्ट्रिय सभामा जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारले सबै रणनीतिहरु बनाएर आवश्यक सावधानी अपनाएको पनि बताए ।
यस्तै, कोरोना भाइरसको संक्रमणविरुद्धको रणनीति निर्माण तथा कार्यान्वयनमा परिचालन हुने कर्मचारीदेखि स्वास्थ्यकर्मीहरुले भोग्नुपर्ने संभावित जोखिमतर्फ पनि सरकार सचेत रहेको मन्त्री ढकालले जानकारी दिए ।
मन्त्री ढकालले कूटनीतिक बाहेक सबै प्रकारका भिसाहरु स्थगित गरिएको पनि बताए । उनले वैशाख १८ गतेसम्मका लागि विदेशीलाई दिइने भिसा (कूटनीतिक वाहेकको हकमा) स्थगित गरिएको बताए ।