राष्ट्रियसभाको बैठकमा आज (सोमबार)आधा दर्जन विधेयकहरू पेश हुने भएका छन्। बैठक दिउँसो १ बजे बस्ने बताइएको छ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण विधेयक पेश गर्नेछन्।
बैठकमा गृहमन्त्री रामबहादुर थापाले अध्यागमन विधेयक २०७६ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने बताइएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ माथि प्रतिनिधिसभाबाट भएको संसोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने संसद् सचिवालयले जनाएको छ। यस्तै, उनले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको पारमाणविक विधेयकमाथि सदनमा छलफलको प्रस्ताव गर्ने कार्यसूची छ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्वाहाङ्फेले प्रमाण (दोस्रो संशोधन) विधेयक २०७५ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाति विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने बताइएको छ।