महान्यायाधिवक्ताको कार्यालयले बरामद गरेका मास्क न्युनतम बजार मूल्यमा बिक्रि गर्न प्रहरीलाई निर्देशन दिएको छ।
पछिल्लो समय कोरोना भाइरसको संक्रमणको त्रास बढिरहेका बेला व्यापारीहरुले कालोबजारीका लागि संकलन गरेको अवस्थामा प्रहरीले विभिन्न ठाउँबाट बरामद गरेका मास्क उचित मूल्यमा बिक्रि गर्न महान्यायाधिवक्ताको कार्यालयले निर्देशन दिएको हो। महान्यायाधिवक्ता अग्नी प्रसाद खरेलले हाल विषम परिस्थिति रहेको भन्दै त्यसको प्रयोग गर्न सकिने निर्देशन दिएका छन्।
सोमबार बरामद गरिएका मास्कको मूल्य र नमुनासहितको अभिलेख एवम् फोटोसहितको डिजिटल अभिलेख मिसिलमा राख्ने र मास्कलाई हालको बजार मूल्य अनुसारको रकम साझा स्वास्थ्य सेवा तथा यस्तै प्रकृतिका अन्य सार्वजनिक संस्थाबाट लिइ सो रकम प्रहरीको धरौटी खातामा राखी मास्क अविलम्ब बिक्रि गर्न निर्देशन दिइएको छ।
साथै अनुसन्धान भएका मुद्दाहरुमा अभियोजन गर्ने निर्णय हुँदा बिक्रिपूर्व राखिएको विवरणअनुसार धरौटी खातामा जम्मा भएको रकम जफत हुन मागदाबी लिने प्रबन्ध मिलाउन प्रहरी महानिरिक्षकलाई निर्देशन दिइएको छ।
प्रहरीले सोमबार ८ लाख भन्दा बढी थान मास्क बरामद गरेको छ। यसअघि पनि प्रहरीले ठूलो मात्रामा सर्जिकल मास्क बरामद गरेको थियो।
