logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

टिपरको ठक्करबाट आमा–छोरीको मृत्युपछि तनाव, पाँच प्रहरी घाइते


अंकुरण खबर
754
Shares

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ पनौती मानेश्वरी बसपार्कमा हिजो अपराह्न टिपरले ठक्कँर दिँदा पैदलयात्री आमा छोरीको मृत्यु भएको छ ।

बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिई घाइते भएका खानिखोला गाउँपालिका–१ बस्ने वर्ष २६ की जुनिमाया गोले र उनकी ३ वर्षीया छोरी स्मारिका तामाङको बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

छोरीलाई जोगाउन खोज्दा आमालाई समेत टिपरले ठक्कर दिएको स्थानीयले जानकारी दिएका छन् । हुइँकिएर आएको टिपरबाट छोरीलाई जोगाउन खोज्दा जूनी आफै पनि जोगिन सकिनन् ।

गोलेका श्रीमान् छिरिङ लामा भने वैदेशिक रोजगारको सिलसिलामा दुई वर्षदेखि मलेसियामा छन् । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनापश्चात आक्रोशित भिडले ढुङ्गामुढा गरेपछि दुई राउण्ड हवाई फायर र पाँच राउण्ड अश्रुग्याँस प्रहार गरेको ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

भिडलाई नियन्त्रणमा लिने क्रममा पाँच जना प्रहरी घाइते भएका छन् । घाइतेमध्ये प्रहरी हबलदार दिलीप बुढाथोकीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।