सहिद स्मारक बी डिभिजन लिग फुटबलको छैटौं चरणको खेल अन्तर्गत आज दुई खेल हुँदैछ ।
आजको पहिलो खेलमा ब्वाईज युनियन क्लबले रानीपोखरी कर्नर टिम आरसीटीसँग तथा दोस्रो खेलमा सातदोबाटो युथ क्लबले झम्सिखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्दैछन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने ब्वाईज र आरसीटीको खेल अपरान्ह साढे १२ बजे सुरु हुनेछ । त्यस्तै, सातदोबाटो र झम्सिखेलबीचको खेल दिउँसो सवा ३ बजे सुरु हुनेछ ।
ब्वाईज ७ अंक जोडेर लिगको छैटौं स्थानमा रहेको छ भने आरसीटी भने ५ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
शीर्ष स्थानको सातदोबाटोले अपराजित रहँदै ५ खेलमा १५ अंक जोडेको छ ।त्यस्तै झम्सिखेल ५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । बिजेता टिम ए डिभिजन लिगमा बढुवा हुनेछ भने पुछारमा रहने टिम सी डिभिजनमा घटुवा हुनेछ ।