चीनको वुहानबाट विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड -१९) अहिले सम्म १ सय ६२ देशमा फैलिसकेको छ ।
कोरोनाका कारण अहिलेसम्म एक लाख ८२ हजार सात सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात हजार एक सय ७४ जनाको ज्यान गएको छ भने ९५ हजार सात सय ६ जनाले उपचार गराइरहेका छन् ।
७९ हजार आठ सय ८४ जना निको भएका छन् । ७९ हजार आठ सय ८४ जनामध्ये नेपालमा सङ्क्रमण देखिएका एक जना पनि निको भइसकेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ ।
कोरोनाको तथ्याङ्क दिइरहेको https://www.worldometers.info/coronavirus/ ले अहिलेसम्म नेपाललाई मात्र हरियो रङ्ग लगाएको छ । हरियो रङ्गको मतलब ‘अहिलेसम्म कोरोना सङ्क्रमण देखिएका व्यक्ति निको भएको र अरु सङ्क्रमित नभएको’ उल्लेख गरेको छ ।
यसअघि मकाउ, जिब्राल्टार लगायतका देशलाई पनि सूचीमा हरियो रङ्गमा राखिए पनि अहिले कोरोना प्रभावित देशमा नेपाल मात्र नयाँ कोरोना सङ्क्रमित नभेटिएको देश भएको हो ।
कोरोना फैलिएको १ सय ६२ देशमा अझै पनि कोही न कोही सङ्क्रमित भेटिएको वा यसअघि सङ्क्रमण भेटिएका व्यक्तिको ज्यान गएको भए पनि नेपालमा अहिलेसम्म दोस्रो व्यक्तिमा सङ्क्रमण देखिएको छैन ।