सरकारको आगामी ६ चैतबाट सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) नरोकिने बताएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले एक अपिल जारी गर्दै एसईई परीक्षाको सबै तयारी पूरा भएको पनि बताएका छन् । पर्याप्त सावधानी अपनाएर परीक्षा सञ्चालन र व्यवस्थापन गर्न लागिएको मन्त्री पोखरेलको आह्वान छ ।
उनले आफ्नो अपीलमा भनेका छन्, ‘विद्यार्थीहरुलाई परीक्षा केन्द्रमा स्वास्थ्य सहायता प्रदान गर्न प्रत्येक परीक्षा केन्द्रहरुमा परीक्षा अवधिभर हेल्थ डेस्क राख्ने प्रबन्धका लागि ७५३ वटै स्थानीय तहहरुलाई अनुरोध गरिसकिएको छ ।’
मन्त्रालयले विद्यार्थीहरुलाई साबुनपानी प्रयोग गरेर हात धुन, मास्क प्रयोग गर्न, अरुसँग हात नमिलाउन र सकभर भीडभाडमा नजान आग्रह गरेको छ । साथै, विभिन्न परीक्षा भर्ना नलिन र भीडभाड नगर्न मन्त्रालयले सुझाएको छ ।
जारी अपिलमा भनिएको छ, ‘मुलुकको विशेष परिस्थितिलाई ध्यानमा राखेर विद्यालयमा सांस्कृतिक कार्यक्रम, बार्षिक अभिभावक दिवस, नतिजा सार्वजनिकीकरण, प्रवेश परीक्षा वा भर्नाका नाममा भीडभाड वा आम भेला नगर्न सबैमा अनुरोध छ ।’