अर्थ तथा संचारमन्त्री युवराज खतिवडाले कोरोना भाइरसको सन्त्रासबाट चाँडै मुक्त हुने र पर्यटनको क्षेत्रमा फर्किने बताएका छन् ।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री खतिवडाले बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बैंकको ऋणबारे पनि छलफल भइरहेको बताएका छन् । साथै, उनले करको समय पनि केही पर सार्न सकिन्छ कि भन्ने तयारीमा सरकार रहेको बताएका छन् ।
उनले वैदेशिक रोगजारीमा जान नपाएकाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन आह्वान समेत गरे। उनले भने, ‘म सानो काम गर्दिन, टेबल वर्क मात्र गर्छु भनिदिनु भएन ।’
कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि सरकारले श्रम स्वीकृति दिन स्थगित गरेको छ । यसका कारण रोजगारीका लागि विभिन्न मुलुकमा जाने तयारीमा रहेकाहरु रोकिएका छन् । खतिवडाले वैदेशिक रोजगारीमा जान नपाएकाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी आग्रह गरेका हुन् ।