logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज पत्रपत्रिकामा छापिएका मूख्य खबर


अंकुरण खबर
1.677K
Shares

आजदेखि भरतपुरमा कोरोना विशेष अस्पताल सञ्चालन सुरु

कोरोना भाइरस सङ्क्रमितका लागि निर्माण गरिएको भरतपुर कोरोना विशेष अस्थायी अस्पताल शुक्रबारदेखि सञ्चालन हुँदैछ ।

भरतपुरको प्रदर्शनी स्थलमा निर्माण भइरहेको अस्पतालमा ५० बेडको क्षमतामा शुक्रबारबाटै ओपीडी सेवा सञ्चालन गर्ने तयारी भएको भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले जानकारी दिइन् ।

७० बेडको अस्पताल निर्माण गर्ने तयारी रहेको बताउँदै प्रमुख दाहालले भनिन्, “अहिलेलाई ओपीडी सेवा हुनेछ । त्यसपछि आइसोलेसनको व्यवस्था गरिनेछ । ओपीडी सञ्चालनपछि आईसीयू सेवा दिने गरी तयारी तीव्र पारिएको छ ।”

भारतीय नाका कोरोना संक्रमणको उच्च जोखिममा

गृह मन्त्रालयले भारतीय सीमा क्षेत्रबाट कोरोना भाइरसको संक्रमण भित्रिन सक्ने जोखिम रहेको निष्कर्ष निकाल्दै थप सर्तकता अपनाउने निर्णय गरेको छ ।

कोरोना भाइरस देशभित्र भित्रिन नदिन अधिकतम स्रोत र साधन परिचालन गर्नेसहित मन्त्रालयले खुला सीमा नाकाबाट कोरोना भाइरस संक्रमितलाई नेपाल भित्रिन नदिन थप प्रभावकारी कदम चाल्ने निर्णय गरेको हो ।

कोरोनाको वस्तुस्थिति, पूर्वतयारी र प्रतिकार्य योजना सम्बन्धमा छलफल गर्न बिहिबार गृह मन्त्रालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्याकारी समिति बैठकले खुला सिमानाका कारण भारतबाट संक्रमणको जोखिम उच्च रहेको, उत्तरतर्फका नाकाभन्दा दक्षिणको नाकाबाट जोखिम बढेको र भारतमा तीव्र गतिमा फैलिरहेको कोरोनाको प्रभाव नेपालमा पर्न सक्नेतर्फ सचेत रहन सीमा नाकामा हुने चेकजाँचलाई थप कडाइ गर्नुपर्ने निष्कर्ष निकालेको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा मधुसूदन रायमाझीले लेखेका छन् ।

भारतको कोलकाता बन्दरगाहमा पानीजहाजलाई क्वारेन्टाइन बनाइयो

कोरोनो भाइरस ९कोभिड–१९०को संक्रमण फैलिएका देशबाट आउने कार्गो बोकेका पानीजहाजलाई कोलकाता बन्दरगाहले क्वारेन्टाइनमा राखेर मात्रै भित्रिन दिने भएको छ ।

कोलकाता पोर्ट ट्रस्टले कोरोना संक्रमणको उच्च जोखिम भएका देशबाट आउने पानीजहाजलाई १४ दिन क्वारेन्टाइनमा राखेर अनलोडको अनुमति दिइने बिहीवार सूचना निकालेर बताएको हो ।

समुद्री मार्गमै १४ दिन बिताइसकेका पानीजहाज र चालक दललाई भने क्वारेन्टाइनमा राखिने छैन । यस्ता पानीजहाजले कोरोना संक्रमणको लक्षण देखिने १४ दिनको समय समुद्रमै बिताइसक्ने भएकाले क्वारेन्टाइन आवश्यक नपर्ने कोलकाता पोर्ट ट्रस्टका अध्यक्ष विनीत कुमारले बताए ।

भारतको स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयको निर्देशनमा बन्दरगाहले यस्तो कदम चालेको हो । ‘कारोना भाइरसको संक्रमण पैmलन नदिन समुद्रमै क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको हो । तर, समुद्री मार्गमै १४ दिन बिताएर आएका पानीजहाजका लागि यो आवश्यक छैन,’ अध्यक्ष विनीत कुमारले आर्थिक अभियानसित भने ।

विश्व स्वास्थ्य संगठनको स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्योर ९एसओपी०अनुसार कोरोना प्रभावित देशबाट आएका पानीजहाजका चालक दल र मालसामानलाई क्वारेन्टाइनमा राखिने सूचना पठाएको नेपाल फ्रेट फर्वार्डर्स एशोसिएशनका पूर्वअध्यक्ष राजन शर्माले बताए ।

कोलकातासम्म आइपुगेका यस्ता पानीजहाजलाई समुद्रमै १४ दिनसम्म राखेर चालक दललाई कोराना संक्रमणको लक्षण नदेखिएमात्रै जहाजबाट ओर्लिन दिइने भएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा ओमप्रकाश खनालले लेखेका छन् ।

काठमाडौं उपत्यकाबाट बाहिरिने सवारी र यात्रुको संख्या वृद्धि

कोरोना भाइरसको सन्त्रासका कारण काठमाडौं उपत्यकामा सवारीसाधनको चाप कम हुँदै गएको छ । सरकारले शैक्षिक संघसंस्थाको पठनपाठन तथा परीक्षा स्थगित गरेपछि काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या एक्कासि वृद्धि हुँदा उपत्यकामा सवारी चाप कम हुँदै गएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले विगतको तुलनामा काठमाडौं उपत्यकाबाट बाहिरिने सवारी र यात्रुको संख्या वृद्धि भएको बताए ।

उपत्यकाबाट बाहिरिनेमा अधिकांश युवा तथा विद्यार्थी , बालबालिका र महिला रहेको प्रहरीले जनाएको छ ।

नेपाल प्रवेशमा ६६ मुलुकलाई प्रतिबन्ध

कोरोनाको सम्भाव्य प्रकोपलाई दृष्टिगत गर्दै सरकारले यूरोप, पश्चिम एशिया तथा खाडी क्षेत्र लगायत ६६ मुलुकबाट नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको छ । यो व्यवस्था २०७६ चैत ७ गते मध्यरातदेखि लागू हुनेछ ।

प्रतिबन्धित देशका नागरिक मात्र होइनन्, त्यहाँ रहेका नेपाली, गैरआवासीय नेपालीलाई समेत नेपाल आउन रोकिनेछ । साथै, प्रतिबन्ध लगाइएका देशलाई ट्रान्जिट बनाएर पनि नेपाल आउन पाइनेछैन । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालमा कुल ६६ मुलुकका नागरिक र त्यहाँबाट आउने जुनसुकै मुलुकका नागरिकलाई समेत प्रतिबन्ध लागेको छ ।

सरकारले बुधवार गरेको निर्णयअनुसार प्राधिकरणले उडान व्यवस्थापन गर्न एयरलाइन्स कम्पनीलाई निर्देशन दिएको छ । प्राधिकरणका अनुसार यूरोपका ४५ देशबाट नेपाल आउन रोक लगाइएको छ । पश्चिम एशिया र खाडीका १९ देशका साथै जापान र कोरियाबाट पनि आउन पाइने छैन ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीवार बसेको बैठकले आवागमन बन्द गर्नुका साथै कोरोना संक्रमणबाट बच्न विभिन्न निर्णय गरेको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

ग्यासको अझै सहज पाइएन

सरकारले बजारमा पर्याप्त ग्यास छ भनेर दाबी गर्दै आए पनि उपभोक्ताले सहजै ग्यास खरिद गर्न पाएका छैनन् ।एउटा ग्यास सिलिन्डरका लागि एक सातासम्म लाइन बस्नुपर्ने अवस्था छ ।

निगमले मासिक ३८ हजार मेट्रिक टन ग्यास आयात गर्दै आएकामा पछिल्ला दुई सातामा २५ हजार ६ सय ४९ मेट्रिक टन ग्यास आयात गरेको छ ।

बजारमा ग्यासको माग बढेपछि आपूर्ति सहज कोटा बढाएर ४५ हजार पुर्याइएको छ । निगमले बजारमा आपूर्ति सहज गर्न १६ दिनमा मात्र १८ लाख ६ हजार २ सय २ वटा सिलिन्डर बजारमा पठाएको छ । तर, उपभोक्ताले ग्यास सहजै पाउन सकेका छैनन् ।

व्यापारीले कालोबजारी गर्न थालेपछि पर्याप्त ग्यास हुदाँ हुँदै पनि उपभोक्ताले सहज रुपमा ग्यास नपाएको राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले बताए । यो समाचार आजको राजधानी दैनिकमा कौशिला कुँवरले लेखेकी छन् ।

बाजुरामा अज्ञात रोगबाट दुई नाबालकको मृत्यु

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा अज्ञात रोगबाट दुई नाबालकको अकालमा मृत्यु भएको छ ।

वडा नं २ पुडेनीका चतुरे थापाका चार महिनाको छोरा खम्वीरसिंह थापा र वडा नं १ मुक्तिकोटका भर्बले विकको पाँच महिनाकी छोरी डम्मकला विकको मृत्यु भएको स्थानीय आनन्द बुढाले जानकारी दिए ।

उनका अनुसार खम्वीरसिंह थापाको यही चैत ५ गते र डम्मरकला विकको चैत ३ गते दिन मृत्यु भएको हो ।

अहिले सो गाउँपालिकाको वडा नं १ र २ का बालबालिका तथा वृद्धवृद्धा बिरामी परेको बताइएको छ । ज्वरो आउने, खोकी लाग्ने र हातखुट्टा दुख्ने लक्षण देखिएको गाउँपालिका उपाध्यक्ष मीना बुढाले जानकारी दिए ।

स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले प्रभावित गाउँमा स्वास्थ्यकर्मी परिचालन भएको जानकारी दिए ।

यसैगरी चुवाना, छुदरी, सुपेना, फयालगाउँ, वाउनवाडा, माझगाउँ, पुडेनी, लौडीसहितका गाउकाँ बासिन्दा बिरामी पर्न थालेका छन् । गत माघ महिनामा ती गाउँमा भाइरल ज्वरोको सङ्क्रमण देखिएको थियो ।

गाउँमा बिरामीको सङ्ख्या धेरै रहेको जानकारी आएको र गाउँपालिकासँगको सहकार्यमा टोली गइसकेकाले प्रमुख पन्तले जानकारी दिए । अहेब विर्ज विकसहितको टोली प्रभावित गाउँमा पुगिसेको उनले बताए ।

गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाहीले दुईनाबालकको मृत्यु भएको र केही बिरामी परेको जानकारी पाएलगत्तै स्वास्थ्यकर्मी परिचालन गरी उपचार शुरु गरिएको बताउनुभयो । गाउँपालिका केन्द्रबाट प्रभावित क्षेत्र अढाइ घण्टाको पैदल दूरीमा पर्छ ।

प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले पनि सङ्क्रमण फैलिएको खबर प्राप्त भएको बताए । प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले स्वास्थ्यकर्मी प्रभावित भनिएको गाउँतिर पठाइसकेको जानकारी दिए ।