देशमा सञ्चालित सबै हेलिकप्टर र आन्तरिक उडानका ६ वटा जहाज समेत ग्राउण्डेड हुने भएको छ ।
हाल विश्वभर फैलिएको कोरोना भाइरसको कारण देशमा सञ्चालित सबै हेलिकप्टर र जहाज ग्राउन्डेड हुने भएको हो । नेपालमा १२ वटा साना जहाज र ३३ वटा हेलिकप्टर सञ्चालनमा छन् । सोमध्ये ६ वटामात्र सञ्चालन रहने छन् ।
सबै हेलिकप्टर र ५० प्रतिशत साना जहाज १९ चैत २०७६ बाट भूमिस्थ (ग्राउन्डेड) गर्ने निर्णय भएको वायुसेवा संचालक संघका प्रवक्ता योगराज कँडेल शर्माले जानकारी दिए । प्रतिबद्धता गरिसकेको उडान बाहेक नयाँ उडान बन्द गर्ने उनले बताए ।
संघको बिहीबार बसेको बैठकले बैंक तथा वित्तीय संस्थाबाट नेपाली तथा विदेशी मुद्रामा लिएको सम्पूर्ण ऋणको कम्तिमा एक वर्षको ब्याज मिनाहा गर्न माग पनि गरेको छ । वायुसेवा कम्पनीले लिएको ऋणको किस्ता एक वर्षलाई स्थगित गरी पुनर्तालिकीकरण गर्नुपर्ने, विदेशी मुद्रामा लिएको ऋण नेपाली रुपैयाँमा भुक्तान गर्न पाउने माग समेत गरेका छन् ।
बैकबाट सहुलियत ऋण पाउनुपर्ने, वायुयान कम्पनीलाई कोरोना भाइसरका कारण पुगेको क्षतिबाट पुनर्जीवित गर्न सरकारबाट विभिन्न शीर्षकमा सहुलियत दिनुपर्ने माग गरेका छन् ।