logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

निजी विद्यालय भवनमा आइसोलेसन कक्षसहितको अस्पताल सञ्चालन


अंकुरण खबर
962
Shares

कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै पूर्वतयारीका लागि म्याग्दीको सदरमुकाम बेनीको एक निजी विद्यालय भवनमा आइसोलेसन कक्षसहितको अस्पताल सञ्चालन गरिने भएको छ ।

बेनी नगरपालिका–८ हिलसाइडमा अवस्थित माउण्ट एभरेष्ट आवासीय माविको भवनमा रहेका ३३ कोठामध्ये हाललाई दश कोठमा बेनी अस्पतालले आइसोलेसन कक्ष बनाउने भएको हो ।

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको अध्यक्षतामा शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले अस्थायी अस्पताल बनाउने निर्णय गरेको हो । आज बेलुकासम्म अस्पताल तयार हुने प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । विद्यालयको सामाजिक उत्तरदायित्वअन्तर्गत हाल खाली अवस्थाको विद्यालय भवनलाई आइसोलेसन अस्पतालको रुपमा प्रयोग गर्न दिने निर्णय भएको माउन्ट एभरेष्ट आवासीय माविका अध्यक्ष चन्द्रकुमार केसीले बताए ।

बेनी नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्याग्दी उद्योग वाणिज्य सङ्घ र बेनी अस्पतालका प्रतिनिधि सम्मिलित बैठकले म्याग्दी बहुमुखी क्याम्पस नजिक रहेको माउन्ट एभरेष्ट बोर्डिङ स्कूलको पुरानो भवनलाई मर्मतसम्भार र रङरोगन गरी अस्थायी अस्पतालका रुपमा प्रयोग गर्ने निर्णय गरेको हो ।

भवनको सरसफाइ र आवश्यक पूर्वाधार निर्माण गर्न नेपाली सेनालाई जिम्मेवारी दिइएको छ । नेपाली सेनाले आज बेलुकासम्म अस्पताल तयार पार्ने छ । भाइरस सङ्क्रमितको उपचार सहज होस् भनेर छुट्टै अस्पताल बनाउन लागिएको बेनी अस्पतालका डाक्टर मनोज घिमिरेले बताए ।

आकस्मिकरुपमा सङ्क्रमित देखा परेमा तत्काल राखेर उपचार गर्न सहज होस् भनेर अस्पताल बनाउन लागिएको डाक्टर घिमिरेले बताए । अस्पतालमा १० श्ययाको आइसोलेसन कक्ष हुने छ । रासस