उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारले खाद्यान्नलगायतका अत्यावाश्यक वस्तुको अभाव हुन नदिने गरि बन्दोवस्त गरेको स्पष्ट पारेका छन् ।
आइतबार राजधानीमा आयोजित साक्षात्कारमा मन्त्री भट्टले आपूर्ति व्यवस्थापनको लागि सरकारले पूरै योजनाबद्ध ढंगले काम गरिरहेको स्पष्ट पारेका छन् । उनले भने,‘अहिलेको अवस्थामा तत्काल आपूर्ति व्यवस्थापन कसरी गर्ने भन्ने एउटा तयारी छ, अर्को अलिक गम्भिर अवस्था आयो भने कसरी गर्ने र महामारी नै आयो भने कसरी गर्ने भन्नेपनि तयारी छ ।’
मन्त्री भट्टले बजारमा खाद्यान्न लगायत अत्यावश्यक वस्तुको अभाव हुन्छ भन्ने मनोवृत्तिले उपभोक्ताले संचितीकरण गर्न थालेकोले केही समस्या उत्पन्न भएको पनि टिप्पणी गरे । यस्तो अवस्थामा कतिपय व्यापारीले पनि मौकाको फाईदा उठाउनलाई कालोबजारी गरेको सुनिएको बताए ।
खाद्यान्नलगायतका अत्यावश्यक सामाग्रीको कुनै अभाव नहोस आफ्नो नेतृत्वमा एक समिति गठन गरेको उनको भनाई छ । उनले भने,‘त्यो समितिमा तीनवटै सुरक्षा निकायका प्रतिनिधिछन्, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, उद्योग वाणिज्य महासंघका प्रतिनिधि, चेम्बर अफ कमर्स, सिएआई, उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि छौं । हामी विशेष तयारीका साथ काम गरिरहेका छौं ।’