भारतबाट नेपाल भित्रिने पश्चिमी नेपालको संवेदनशिल बाँकेको जमुनाह नाका एक साताका लागि बन्द गरिएको छ ।
कोरोना भाइरसको रोकथामको प्रयासमा दुवै देशका यात्रुहरुलाई जमुनाहा नाकाबाट आवतजावत गर्न आजबाट रोक लगाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिएका छन् । अत्यावश्यक सेवा (सामान) हरु आउँने तर यात्रुहरु आउन–जान नपाउँने उनले बताए ।
भारतको बहराइच जिल्लाको रुपैडिहा बजारमा दुवै देशका अधिकारीहरुबीच आइतबार छलफल भएको थियो ।
यसअघि दुवै देशका अधिकारीहरुबीच नेपालगञ्जमा भएको बैठकले जमुनाहा नाकाबाट आवत–जावत गर्नेहरुको स्वास्थ्य परीक्षण कडा बनाउने निर्णय गरेको थियो ।
भारतसँग जोडिएको खुल्ला सीमानाबाट दैनिक हजारौंको संख्यामा मानिसहरु आवतजावत गर्दा कोरोना संक्रमण फैलिने जोखिम बढेको छ ।