logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मध्यरातिदेखि अन्तरराष्ट्रिय उडान बन्द, आन्तरिक यथावत्


अंकुरण खबर
949
Shares

कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणलाई ध्यानमा राखी सरकारले आज मध्यरातिदेखि लागू हुनेगरी नौ दिनसम्म नेपाल भित्रिने सबै अन्तरराष्ट्रिय हवाई उडान बन्द गरेको छ ।

नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले सरकारको निर्णयबमोजिम शनिबार जरुरी सूचना निकालेर नेपालमा उडान भर्ने सबै अन्तरराष्ट्रिय वायुसेवा कम्पनीको उडान अवतरण चैत ९ को राति २३:५९ बजेदेखि चैत १८ सम्म सोही समयावधिका लागि स्थगन गरिएको जनाएको छ ।

प्राधिकरणले यस निर्णयबाट नेपालबाट अन्तरराष्ट्रतर्फ जाने यात्रु, एयर एम्बुलेन्स, कार्गो उडान तथा अत्यावश्यक उडानमा असर नपर्ने स्पष्ट पारेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसर त्यसविरुद्ध नेपाल सरकारले चालेका कदम र सचेतनाबारे यही चैत ७ गते साँझ राष्ट्रका नाममा गरेको सम्बोधनमा चैत ९ देखि १८ गतेसम्मका लागि अन्तरराष्ट्रिय उडान स्थगन हुने जनाएका थिए ।

आजै रातिदेखि कुनै पनि यात्रुवाहक जहाज नेपाल प्रवेश गर्न नपाउने प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए । उनका अनुसार विदेशबाट विनायात्रुको जहाज भने नेपाल आउन पाउनेछन् । यहाँबाट विदेश जाने यात्रुलाई ती वायु सेवा कम्पनीले लैजान सक्नेछन् । अन्तरराष्ट्रिय उडान स्थगन गरिए पनि आन्तरिक उडान भने यथावत् रहने महानिर्देशक पोखरेलको भनाइ छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३० वायु सेवा प्रदायक कम्पनीले अन्तरराष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ वायु सेवा कम्पनीले उडान सेवा सञ्चालन गरिरहेका छन् ।