कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आज (सोमबार) बाट अर्घाखाँची जिल्ला ‘लक डाउन’ भएको छ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सोमबार बिहान बसेको सर्वपक्षीय बैठकले अनिश्चित कालका लागि जिल्लालाई लक डाउन गर्ने निर्णय गरेको हो। अब अर्को सूचना जारी नभएसम्मका लागि जिल्ला ‘लक डाउन’ हुने छ।
अन्य जिल्लाबाट अर्घाखाँची जिल्लामा प्रवेश गर्ने मालबाहक गाडी बाहेक अन्य सार्वजनिक निजी सवारी साधन र मोटरसाइकलको आवतजावत सोमबार राति १२ बजेदेखि पूर्णरुपमा प्रतिबन्ध हुने प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए ।
उनका अनुसार मालबाहक सवारी साधनका चालक र सहचालकको हेल्थ डेस्कमा अनिवार्य स्वास्थ्य परीक्षण गरेर मात्र जिल्ला प्रवेश गर्न दिने, खाद्यान्न, ग्याँस, तेल, फलफूल पसल प्रत्येक बिहान १० देखि २ बजेसम्म मात्र खुला गर्ने, दूध डेरी, सागसब्जी पसल बिहान ६ देखि ९ र बेलुका ४ देखि ७ सम्म मात्र खुला हुने छन्।
अस्पताल, औषधि पसल र पेट्रोल पम्प भने २४ सै घन्टा खुला रहने निर्णय भएको उनले बताए ।