तनहुँको दक्षिण भेगमा पर्ने ऋषिङ गाउँपालिका–८ गोठार्दीस्थित शिव माध्यमिक विद्यालयमा ३० शय्या क्षमताको क्वारेन्टाइन स्थापना गरिएको छ ।
सबैलाई सहज हुने गरी गाउँपालिकाको मध्यविन्दु क्षेत्रमा पर्ने सो क्षेत्रमा करेन्टाइन स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए ।
विदेशबाट आएकाहरु स्वास्थ्य परीक्षण गराएर मात्र गाउँ प्रवेश गर्नका लागि गाउँपालिकाले सबै स्वास्थ्यचौकी तथा स्वास्थ्य एकाइमा स्वास्थ्य जाँचका लागि व्यवस्था मिलाएको पनि उनले जानकारी दिए ।
गाउँपालिकाभित्रका कुनै पनि नागरिकलाई कोभिड–१९ सङ्क्रमण भएमा निजको उपचारमा लाग्ने सम्पूर्ण खर्च गाउँपालिकाले ब्यहोर्ने निर्णय भएको छ ।
स्वयंसेविका र स्वास्थ्यकर्मीको टोलीलाई गाउँगाउँ खटाएर सचेतना जगाउने कार्य पनि भइरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । मास्क अपुग हुने देखिएकाले थप ३ हजार मास्क काठमण्डौँबाट मगाइएको उनले बताए ।
लकडाउनको तेस्रो दिनसम्म गाउँपालिकामा १ जनामा पनि कोरोना सङ्क्रमित नदेखिएको र विदेशबाट आउने व्यक्तिको निगरानी राख्न प्रत्येक वडाध्यक्षलाई सतर्क रहन आग्रह गरिएको उनले जानकारी दिए । रासस