कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले तत्कालका लागि न्यूनतम आवागमन खुल्ला गर्ने निर्णय गरेको छ ।
समितिको शुक्रबार बसेको बैठकले खाद्य सामाग्री बोकेका ढुवानीको सामानहरु भित्राउन, विभिन्न स्थानमा अलपत्र परेका पर्यटक, श्रमिकलाई गन्तव्यसम्म पुर्याउनका साथै अतिआवश्यक प्रयोजनको लागि आवागमन खुल्ला गर्ने निर्णय गरिएको हो ।
समितिले नेपालको नाकामा आएर अलपत्र परेका सामानहरु सम्वन्धित व्यक्तिसम्म पुर्याउने व्यवस्था मिलाउन समेत व्यवसायीलाई आह्वान गरेको छ । त्यस्तै अध्ययनका लागि विदेशमा गएका समस्यामा परेका विद्यार्थीलाई नेपालबाट पैसा पठाउने व्यवस्था मिलाउन वित्तीय संस्थालाई आग्रह समेत गरेको छ ।
समितिले सबै प्रदेशका मुख्यमन्त्रीसँग कोरोना भाइरसको संक्रमणसँग जुध्नका लागि गरिएका प्रयास, समस्या र आवश्यक सामग्रीको पूर्तिबारे पनि जानकारी लिएको छ ।