logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वीरगञ्ज र जनकपुरबाट पनि कोरोनाको उपचार


अंकुरण खबर
1.092K
Shares

सरकारले कोरोना रोकको परीक्षण र उपचारको दायरा बढाउँदै लगेको छ ।

महामारीको रुपमा फैलिइरहेको कोरोना उपचारमा नागरिकको सहज पहुँच बढाउन सरकारले राजधानी बाहिर पनि परीक्षण र उपचारको थप व्यवस्था मिलाउँदै लगेको छ । यसैक्रममा आज (आइतबार) देखि प्रदेश–२ को जनकपुर र वीरगञ्जमा पनि कोरोना संक्रमितको उपचार हुने भएको छ ।

प्रादेशिक अस्पताल जनकपुर र नेशनल मेडिकल कलेज वीरगञ्जमा कोरोना संक्रमितको उपचार गर्ने व्यवस्था मिलाइएको प्रदेश सरकारले जानकारी गराएको छ ।

कोरोना संक्रमितका उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा १० वेड छुट्याइएको अस्पतालका प्रमुख डा.नागेन्द्र यादवले जानकारी गराएका छन् । कोरोनाको लक्षण देखिएका शंकास्पद बिरामीलाई मात्र उपचारका लागि वार्डमा राखिने यादवले जानकारी दिएका छन् ।

कोरोनाका बिरामीको उपचार शुरु गरे पनि अस्पतालमा अकास्मिक, प्रसुति, ज्वरो, डायलाइसिस लगायतका अतिआवश्यक सेवा चालु नै रहने उनले जानकारी दिए । यसअघि कोरोनाको उपचार जानकी मेडिकल शिक्षण अस्पतालको जनकपुरस्थित सिटी हस्पिटलमा हुने निर्णय प्रदेश २ सरकारले गरेको थियो ।

तर, शिक्षण अस्पतालको व्यवस्थापन पक्ष प्रतिवद्धताबाट पछि हटेपछि जनकपुर प्रादेशिक अस्पतालमा नै उपचार गर्ने व्यवस्था मिलाइएको हो ।