Breaking Newsसमाचार

स्वास्थ्य सामग्री बोकेर उडेको नेपाली सेनाको जहाज बीचबाटै फर्कियो

सरकारले चीनबाट ल्याएको स्वास्थ्य उपकरण र औषधि लिएर प्रदेश १ मा गएको नेपाली सेनाको हेलिकोप्टर स्काई ट्रक बीचबाटै फर्किएको छ ।

सोमबार बिहान मास्क, स्यानिटाइजर, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) लगायतका सामग्री लिएर उडेको हेलिकोप्टरमा पिरो धुँवा आएपछि बीच बाटोबाटै फर्काइएको स्रोतले जनाएको छ । स्रोतका अनुसार हेलिकोप्टरमा रहेको क्लोरिन गनाउन थालेपछि फर्काइएको हो ।

अहिले क्लोलिन निकालेर अरु सामान फेरि पठाउने तयारी भैरहेको छ । सोमबार नै केही सामग्री र उपकरण लिएर सेनाको अर्को स्काई ट्रक सुर्खेत गएको छ । सरकारले आजै सुदूरपश्चिम प्रदेशमा हवाई मार्गबाट र बुटवल, पोखरा, हेटौँडा र जनकपुरमा स्थल मार्गबाट सेनाको स्काई ट्रकमा औषधि र उपकरण पठाउने तयारी गरेको छ ।

सरकारले चीनबाट ल्याइएका पाँच वटा पीसीआर मेसिनमध्ये चार वटा प्रदेश दुई, प्रदेश पाँच, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा पठाउने र एउटा काठमाडौंमै राख्ने जनाएको छ ।

लामो दुरीमा हवाई मार्गबाट र छोटो दुरीमा स्थल मार्गबाट सामान पठाउने तयारी भइरहेको छ । उपकरण पठाएपछि सम्बन्धित प्रदेशमा कोरोनाको परीक्षण गर्न सुरु गरिनेछ ।

Comment here