२०७७ सालको दशैंको टीका कात्तिक १० गते परेको छ भने तिहार मंसिर १ गते परेको छ ।
सरकारले २०७७ सालका सार्वजनिक विदाहरुको सूची सार्वजनिक गरेको हो । सो सूचीअनुसार दशैं–तिहार जस्ता चाडपर्व केही पछि धकेलिएका छन् ।
२०७७ सालको दशैं विदा कात्तिक ७ गते फूलपातीदेखि ११ गते एकादशीसम्म पाँच दिन पाइनेछ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको भाइटीका भने २०७७ सालको मंसिर महिनामा परेको छ । सरकारले देशभर कात्तिक २९ गते लक्ष्मी पूजाको दिनदेखि मंसिर १ गते भाइटीकाको दिनसम्म सार्वजनिक विदा दिनेछ ।
कात्तिक २९ गते लक्ष्मी पूजाको दिनमा भने शनिबार परेको छ । ३० गते आइतबार म्हस्पूजा र मंसिर १ गते सोमबार गोवर्द्धन पूजा, भाइटीका र नेपाल संवतको नयाँ वर्ष एकैदिन परेको छ ।
२०७७ सालमा मलमास परेकाले चाडपर्व पछि धकेलिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सचिव सूर्यप्रसाद ढुंगेलले बताए । धर्मशास्त्रका अनुसार, मलमास परेको वर्ष चाडपर्वहरु सामान्यतया एक महिना पर सर्छन् । मलमास प्रत्येक तेस्रो वर्षमा पर्छ ।
२०७६ सालमा दशैंको टीका असोज २१ गते र तिहारको भाइटीका कात्तिक १२ गते परेका थिए ।