विश्वभर कोरोना भाइरसका कारण ५३ हजार भन्दा बढीको मृत्यु भएको छ ।
यो भाइरसका कारण इटालीमा १३ हजार ९ सयभन्दा बढी व्यक्तिले ज्यान गुमाइसकेका छन् । त्यहाँ संक्रमितको संख्या १ लाख १५ हजार नाघेको छ । इटालीमा बिहीबार मात्रै साढे ४ हजार नयाँ बिरामी थपिँदा ७६० जनाले ज्यान गुमाए ।
अमेरिकामा कोरोनाबाट प्रभावित हुनेको संख्या सबैभन्दा धेरै २ लाख ४४ हजार नाघेको छ । जसमध्ये त्यहाँ ६ हजार बढीको ज्यान गइसकेको छ । बिहीबार मात्रै अमेरिकामा २९ हजार ८ सय नयाँ संक्रमित थपिँदा ९६८ जनाले ज्यान गुमाएका थिए ।
त्यस्तै, स्पेनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ । शुक्रबार बिहानसम्म त्यहाँ १० हजार ३ सय व्यक्तिको मृत्यु भइसकेको छ । स्पेनमा संक्रमितको संख्या १ लाख १२ हजार नाघेको छ ।
त्यस्तै, जर्मनीमा ८४ हजार ७ सय संक्रमित मध्ये ११ सयले ज्यान गुमाएका छन् । चीनमा संक्रमितको संख्या साढे ८१ हजार छ । जसमध्ये ३३ सय व्यक्तिको मृत्यु भएको छ । चीनमा संक्रमित र मृत्युदर घट्दो क्रममा छ । बिहीबार त्यहाँ ३५ जना मात्र नयाँ संक्रमित थपिँदा ६ जनाको मृत्यु भएको थियो ।
फ्रान्समा कोरोनाबाट ज्यान गुमाउनेको संख्या भयावह देखिएको छ । त्यहाँ बिहीबार मात्र १३ सय बढी व्यक्तिले ज्यान गुमाए । योसँगै फ्रान्समा कोरोनाबाट मृत्यु हुनेको संख्या ५३ सय नाघेको छ । त्यहाँ ५९ हजार मानिस कोरोनाबाट प्रभावित भइसकेका छन् ।
इरानमा ५० हजार व्यक्ति कोरोना संक्रमित हुँदा ३१ सय व्यक्तिले ज्यान गुमाइसकेका छन् । बेलायतमा संक्रमितको संख्या ३३ हजार ७ सय पुगेको छ । जसमध्ये २ हजार ९ बढीको ज्यान गइसकेको छ ।
कोरोना भाइरसको संक्रमण अहिले विश्वका २०४ देशमा फैलिसकेको छ । यो भाइरसका कारण विश्वभर १० लाख १५ हजार संक्रमित भइसकेका छन् । जसमध्ये २ लाख १२ हजार व्यक्ति भने निको भएका छन् ।