लगातार पाँचौं दिन कोरोना भाइरसको नयाँ संक्रमित नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नयाँ संक्रमित नदेखिएको जानकारी दिएका हुन्। प्रवक्ता डा. देवकोटाका अनुसार बिहीबार दिउँसोसम्म जम्मा २ हजार ८ सय ९५ को स्वाबको नमूना परीक्षण गरिएको छ। राष्ट्रिय प्रयोगशाला २ हजार ३ सय ८३ र उपत्यकाबाहिर ५ सय १३ को गरी जम्मा २८ सय ९५ परिक्षण भएको छ। १ सय ९३ को परीक्षण भइरहेको छ।
यसैगरी कैलाली र कञ्चनपुरबाट संकलन गरिएको ६६ वटा नमुना परीक्षण गर्दा कोरोना भाइरस संक्रमण भेटिएन। त्यस्तै धनगढी उपमहानगरपालिका–५ मा स्थानीयमा पनि संक्रमण देखिएपछि सरकारले क्वारेन्टाइनमा रहेका एक सय ९८ जनाको नमूना संकलन गरेर काठमाडौं ल्याएको थियो ।
नेपालमा हालसम्म ९ जनामा मात्र कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये १ जना निको भइसकेका छन्। अस्पतालमा उपचाररत ८ जनाको अवस्था पनि सामान्य रहेको डा. देवकोटाले जानकारी दिए।