नेपालको सबैभन्दा पुरानो वीर अस्पतालमा कोरोना भाइरस (कोभिड-१९) परीक्षण सुरु भएको छ ।
आजदेखि वीर अस्पतालमा औपचारिक रुपमा कोरोना भाइरसको परीक्षण सुरु भएको हो।
हिजो शनिबार पनि ४ वटा नमुना परीक्षण गरिएको अस्पतालका प्रवक्ता डाक्टर केदारप्रसाद सेन्चुरीले बताएका छन् । सेन्चुरीका अनुसार एक पटकमा ५ वटा नमुना परीक्षण गर्ने भनिए पनि सुरुको दिन भएकाले ४ वटा नमुना मात्र परीक्षण गरिएको हो। तर, आजदेखि भने ५ वटा नमुना संकलन भएपछि मात्र परीक्षण गरिने छ।
यद्यपि, अहिलेसम्म अस्पतालमा जम्मा तीनवटा नमुना संकलन भएका छन्। एकपटकमा ५ वटाभन्दा कम नमुना संकलन गर्दा परीक्षण गर्ने किट खेर जाने सेन्चुरीको भनाइ छ।
तर, अस्पतालले भोलिदेखि ५ वटा पनि नमुना संकलन नभए टेकु अस्पतालबाट ल्याएर दैनिक ६० वटासम्म नमुना परीक्षण गर्ने तयारी अस्पतालले गरेको छ।