सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका २ जनामा कोरोना संक्रमण भएको पुष्टि भएपछि सरकारले त्यस अपार्टमेन्टमा बस्ने सबैको कोरोना परीक्षण गर्ने भएको छ ।
स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत यस्तो जानकारी गराएको हो । त्यस्तै संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुको ट्रेसिङ पनि सुरु गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा लण्डनबाट आइ बसेका एकै परिवारका ५८ वर्षका पुरुष र ८१ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुकै परिवारका अर्का एक जनाको पहिलो परीक्षणमा भने कोभिड १९ पोजेटिभ नदेखिएको मन्त्रालयले जनाएको छ ।
सोमबार र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा त्यस परिवारको तीनै जनामा कोरोना संक्रमण देखिएपछि उपचारका लागि पाटन अस्पताल लगिएको थियो ।
अहिले उनीहरुको पाटन अस्पतालमा नै उपचार भइरहेको छ ।