पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आंशिकदेखि सामान्य बदली भई देशका अधिकांश भूभागमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले बुधबार विशेष बुलेटिन जारी गर्दै देशको मध्य र पूर्वका केही स्थान तथा पश्चिमी भूभागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले सचेत रहन आग्रह गरेको छ।
हाल देशको मध्य र पूर्वका अधिकांश भूभागमा र पश्चिमका केही भूभाग पूर्ण बदली भई थोरै स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षा भइरहेको छ र बाँकी भूभागमा आंशिक बदली रहेको छ।
राति देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली भई मध्य र पश्चिमी पहाडी भूभागका केही स्थानहरुमा र पूर्वका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेका बताइएको छ।