logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतीय क्‍वारेन्टाइनमै ‘किरिया बसेका’ भट्टलाई आज साँझसम्म घर पठाइने


अंकुरण खबर
1.235K
Shares

भारतको क्वारेन्टाइनमा रहेका शैल्यशिखर नगरपालिका-१ दार्चुलाका बासुदेव भट्टलाई आज साँझसम्म घर फर्काइने भएको छ।

आमाको मृत्यु भएपछि उनी भारतमै किरियामा बसेका थिए। उनलाई छोड्न भारतीय जिल्ला प्रशासनले इलाका प्रशासनलाई निर्देशन दिएसँगै आज साँझसम्म घर पुग्ने दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले बताए।

पिथौरागढ जिल्लाको जिल्लाधिकारीले धार्चुला तहसिल कार्यालयलाई छोड्न निर्देशन दिएका थिए। त्यसको लागि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलाई जानकारी गराएको थियो। गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेललाई तत्काल नेपाल ल्याउने प्रक्रिया थाल्न निर्देशन दिएको थियो।

मजदुरीका लागि भारत छिरेका भट्ट लकडाउनका बेला नेपाल आउन खोजेका थिए। तर, सीमा नाका सिल गरिएका कारण उनी नेपाल आउन नपाएपछि बलुवाकोटको महाविद्यालय क्वारेन्टाइनमा बसेका थिए।

क्वारेन्टाइनमै बसेका बेला घरमा आमाको निधन भएपछि उनले घर फर्किन खोजेका थिए। तर, अनुमति नपाएपछि उनी क्वारेन्टाइनमै आमाको किरिया बसेका हुन्।